यसरी असफल बन्दैछ अमेरिका

विश्वकै शक्तिशाली देश अमेरिका दोस्रो विश्वयुद्धपछि एकाएक विश्वशक्ति बन्न पुग्यो । दोस्रो विश्वयुद्ध लगत्तै भएको कोरियाली युद्धमा पनि सामेल भयो ।

जसमा दोस्रो विश्वयुद्धमा अमेरिकासँगै रहेको सोभियत संघ र चीनले अमेरिका र दक्षिण कोरियाली सेनालाई हायलकायल बनाए र झण्डै ४ हजारको हाराहारीमा अमेरिकी सेना मारिए ।

सन् १९५५ देखि १९७५ सम्म चलेको भियतनाम युद्धमा अमेरिकी सेनाले लज्जास्पद हार मात्रै भोगेन, यो करिब २० वर्षको अवधिमा ५८ हजारभन्दा बढी सैनिक भियतनाम युद्धमा मारिए ।

राष्ट्रवादी नेता हो चि मिन्हको नेतृत्वमा रहेको उत्तरी भियतनामले अमेरिकीलाई पुच्छर लुकाएर हिड्न बाध्य पा¥यो र भियतनामलाई एकीकरण गर्न सफल भयो ।

 

त्यसपछिका धेरै वर्षसम्म अमेरिका विश्वमा ठूला लडाईमा होमिएन । बरु त्यसपछिका समयमा सोभियत संघसँगको शीतयुद्ध समाप्तिको दिशातिर गयो भने माओ त्से तुङ नेतृत्वको चीनसँग सहकार्यको हात अघि बढायो ।

१८ वर्षअघि अल कायदा समूहले अमेरिकाका ट्विन टावरमा आतंकवादी हमला गरेदेखि अमेरिका लगातार अफगानिस्तान युद्धमा होमिएको छ । २००१ सेप्टेम्बर ११ को हमलामा करिब ३ हजारले ज्यान गुमाएका थिए ।

सेप्टेम्बर ११ को आक्रमणका नामले चिनिने न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण भएपछि संसारको राजनीतिमा एकाएक परिवर्तन आयो । सेप्टेम्बर ११ हो हमलालगत्तै अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्यो  र तालिबानको सत्ता पल्टाइदियो ।

अल कायदालाई आश्रय दिएको आरोपमा तालिबान सत्ता उल्टाएपछि निरन्तर १८ वर्ष अफगानिस्तान युद्धको भुमरीबाट पिसोलिदै आएको छ । केही दिनअघि तालिबान र अमेरिकाबीच शान्ति सम्झौता हुने घोषणा गरिएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता रद्द गरेपछि तत्काललाई अफगानिस्तानमा युद्ध अन्त्य हुने आशा निराशामा परिणात भएको छ ।

अमेरिका यसबीचमा इराक युद्ध, सिरियामा बसर अल असदविरोधी युद्ध, आईएसविरुद्धको युद्धमा सामेल भएपनि सबैभन्दा बढी क्षति अफगानिस्तान युद्धमा भइरहेको छ ।

युद्धमा क्षति

अफगानिस्तान युद्धमा कति क्षति भयो भनेर यकीनसाथ भन्न सहज छैन । युद्ध जारी छ, हताहतीको क्रम चलिरहेको छ । अफगान युद्धमा कति अफगान सेना मारिए भन्ने तथ्यांक अहिलेसम्म बाहिर आएको छैन ।

केही महिनाअघि अफगानी राष्ट्रपति असरफ घानीले सन् २०१४ यता ४५ हजार सैन्य अधिकारी मारिएको बताएका थिए । यो अवधि अफगान सेनाले त्यहाँको सुरक्षाको जिम्मा लिएको अवधि हो । त्यो भन्दा अघि सन् २००१ देखि २०१४ सम्म मारिएका सैनिकको तथ्यांका छैन ।

सो अवधिमा विभिन्न देशका ३ हजार ५ सय सैनिक मारिएकामा २ हजार ३ सयभन्दा बढी अमेरिकी सैनिक नै छन् । सर्वसाधारणको हताहती, घाइते, अपांग भएका र विस्थापित भएकाको सूची उल्लेख गर्न कठिन छ । ४२ हजारभन्दा बढी तालिबान विद्रोहीहरु मारिएको उल्लेख गरिएपनि त्यसको पूर्ण विवरण छैन ।

यतिमात्र भन्न सकिन्छ कि १८ वर्षे युद्धले अफगानिस्तान थिलथिलो भएको छ । विकासका बन्ध्याकरण गरिएको अवस्था छ । आर्थिक रुपमा भन्ने हो भने सन् २००१ देखि हालम्ममा इराक, अफगानिस्तान, सिरिया र पाकिस्तानमामात्रै करिब ६ ट्रिलियन अमेरिकी डलर नोक्सानी भएको छ ।

अमेरिकी नीति

सिधा अर्थमा भन्दा अमेरिका १८ वर्षे युद्धका क्रममा अफगानिस्तानमा असफल बन्ने दिशातिर देखिन्छ । सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए । २०१७ को २० जनवरीमा पदभार ग्रहण गरेको केही समयपछि उनले राष्ट्रिय सुरक्षा योजना सार्वजनिक गर्दा, आप्रवासी संकट, मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउनेसँगै आतंकवादविरुद्धको लडाई पनि एउटा प्रमुख विषय थियो । भलै यो अमेरिकाको नयाँ नीति नभएर पूर्व राष्ट्रपतिहरुले सञ्चालन गर्दै आएको नीतिको एक हिस्सा थियो ।

अमेरिकाले आतंकवादविरुद्धको लडाईसँगै रुस र चीनविरुद्ध संघर्षको मोर्चा खोलेको छ भने उत्तर कोरिया र इरानको परमाणु कार्यक्रम पनि अमेरिकी सुरक्षाका लागि उत्तिकै चासोका रुपमा लिएको पाइन्छ । अघिल्ला राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा इरानसँग गरेको परमाणु सम्झौता ट्रम्पले रद्द गरेपछि त्यसले फेरि नयाँ आणविक अस्त्रको होडमा इरान सामेल हुने खतरा बढेको छ ।

उत्तर कोरियाको आणविक कार्यक्रम बन्द गराउन र कोरियाली प्रायद्वीपमा परमाणु हतियारको होडबाजी अन्त्य गर्न ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच दुई चरणमा वार्ता भएपनि उपलब्धि हात लागेन । अमेरिकाले आप्रवासी रोक्ने नीति, चीन र रुससँगको संघर्षसहितका विषयलाई आफ्नो कार्यक्रममा सामेल गरेको देखिन्छ । मुख्य रुपमा अमेरिका आतंकवादविरोधी लडाईबाट विस्तारै पछि हट्ने कोशिस गरिरहेको छ ।

इस्लामिक स्टेट (आईएस) करिब करिब अन्त्य भइसकेको अवस्थामा अब आतंकवाद प्रमुख खतरा नरहेको निष्कर्षतिर अमेरिका पुग्दै गरेको देखिन्छ । आतंकवादविरुद्धको लडाईका लागि अमेरिकाले विश्वका विभिन्न देशहरुलाई आर्थिक सहायता प्रदान गर्दै आएको थियो । तर अब उसले त्यो रकममा कटौती गरेको छ ।

पूर्वराष्ट्रपति बाराक ओबामा र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा कुनै नयाँ युद्ध सुरु गरेनन् । तर ओबामाले पुराना लडाईलाई आक्रामक बनाए भने ट्रम्प मौसमी रुपमा फेरिने गरेका छन् । कहिले आक्रामक बन्ने गर्छन् भने कहिले लचकताको हदसम्म पुगेर वार्ताको कोशिस गर्छन् ।

उनले सामाजिक सञ्जालमा जुन प्रकारको आक्रामक अभिव्यक्ति दिन्छन्, सो अनुसार विदेश नीतिमा आक्रामक भएको पाइदैन । तर ट्रम्पले ओबामा र बुशको समयमा रहेको आक्रामक नीतिलाई जारी राखे । खास गरी इस्लामिक स्टेट (आईएस) अन्य गर्नका लागि ट्रम्पले भूमिका खेले ।

आतंकवादी हमला

अमेरिकासहितका राष्ट्रहरु करिब दुई दशकदेखि प्रत्यक्ष वा परोक्ष रुपमा आतंकवादविरोधी लडाईमा सामेल छन् । तर संसारमा आतंकवादी हमलाहरु घट्नुको साटो बढिरहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले १९९० देखि अन्तर्राष्ट्रिय चरमपन्थी हमलाबारे वार्षिक रिपोर्ट जारी गर्दै आएको छ । सन् २०००–२००१ मा वार्षिक रुपमा १ सय देखि १५० चरमपन्थी हमला हुने गर्दथे । तर अमेरिका र बेलायतले इराकमाथि हमला गरेपछि आतंकवादी हमलाको संख्या २००४ मा ७० हजारसम्म पुग्यो । जसमध्ये सबैभन्दा बढी हमला इराकमा नै भएका थिए ।

११ सेप्टेम्बरको हमलापछि अमेरिकाको लक्ष्य संसारबाट आतंकवाद निर्मुल पार्नु थियो । तर त्यसपछि अमेरिकाले जुन कदम चाल्यो त्यसले आतंकवादलाई अन्त्य गर्नुका साटो थप बलियो बनाइदियो । खासगरी मध्यपूर्व (पश्चिम एसिया), इराक, सिरिया र अफगानिस्तानमा आतंकवादी हमलाहरु बढ्दै गएका छन् भने यो क्षेत्रमा आतंकवाद प्रमुख चुनौतीका रुपमा देखा परेको छ ।

सोभियत संघ अफगानिस्तानमा हुँदासम्म कहिल्यै पनि आतंकवादी हमला भएनन् । सद्दाम हुसैनले २० वर्षसम्म इराकमा शासन गर्दा आतंकवादी आक्रमणका घटना भएनन् । अमेरिका जब दुवै देशमा पुग्यो, तब आतंकवादी हमला दिन दुगुना रात चौगुनाका दरले बढ्न थाले ।

अमेरिकाका कारण नै आतंकवादीहरु बलियो बन्दै गएका छन् भन्ने कुरालाई अमेरिकी नीति निर्माताहरुले स्वीकार गर्दैनन् । त्यसै कारणले नै अमेरिकी नीतिमा गरिएका अनुमान समेत गलत हुने गरेका छन् ।

आतंकवादका लागि जमिन

अल कायदा र इस्लामिक स्टेटको जुन आतंक सिर्जना भएको थियो, त्यो अहिले पनि कायम छ । संसारभरी औंलाले गन्न सकिने बाहेक अधिकांश मुस्लिम देशमा यतिबेला न त लोकतन्त्र छ, न सुरक्षा छ न त आर्थिक विकास नै भएको छ । यी देशका मानिसको जीवन र अन्य देशका मानिसको जीवनस्तरमा समेत ठूलो भिन्नता देखिन थालिसकेको छ ।

आतंकवादविरोधी कारबाहीका नाममा गरिएका हमलाबाट जुन असन्तोष, रिस र घृणा पैदा भएको छ, त्यो अहिले पनि जारी छ । म्यानमारमा रोहिंग्या मुस्लिमको विषय, चीनका मुस्लिम समुदाय हुन् या काश्मीरमा भइरहेको घटना नै किन नहोस् ।

यी सबै घटनाहरुबाट मुस्लिम समुदायले आफूहरुमाथि अत्याचार भइरहेको महसुस गरेका छन्, कसैले उनीहरुलाई सहयोग नगरेको ठानिरहेका छन् । भलै मुस्लिम समुदायभित्रै यस्ता विभेदको खाडल पुर्नै नसकिने गरी गहिरिदै गएको छ, असमानता चुलिएको छ र एक मुस्लिमले अर्को मुस्लिम समुदायमाथि हमला गर्ने परिपाटी उसैगरी विकास भएको छ ।

मुस्लिम समुदायभित्र रहेको आन्तरिक विभेद र सिंगो मुस्लिम समुदायमाथि थोपरेको ठानिएको अन्यायको अभिव्यक्ति स्वरुप ‘जिहादी मानसिकता’ हुर्किइरहेको छ । यसका कारकतत्वमाथि प्रहार नगरेसम्म अहिलेको अवस्थालाईं सामान्य अवस्थामा फर्काउन धेरै कठिन छ ।

जिहादीसँग लड्ने देश र संस्थाहरुको संख्यामा बढोत्तरी भएको छ, उनीहरुको प्रतिरोध शक्ति बलियो पनि छ, आतंकवादबारे समयमा नै जानकारी लिनसक्ने संयन्त्रसूचकहरु पनि स्थापित हुन थालेका कारण खतरा कम गर्न सहयोग पनि पुगेको छ । तर आतंकवादको खतरा अन्त्य भएको छैन । यसले आतंकवादविरुद्धको लडाई निरन्तर असफलतातर्फ अघि बढेको संकेत गर्छ ।

प्रतिकृया दिनुहोस

अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार बर्खास्त

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्। बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले

बेलायतमा पढेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने

अध्ययनका लागि बेलायत पुगेका विदेशी विद्यार्थीले अब पढाई पूरा गरेपछि थप दुई वर्ष बेलायतमा नै बसेर काम गर्ने अवसर पाउने भएका छन् । बेलायती

राजकुमारीले गरिन् प्लम्बरको अपहरण र कुटपिट !

प्लम्बरको अपहरण र कुटपिटको आरोपमा साउदी अरबकी राजकुमारीमाथि सजाय हुने भएको छ । फ्रान्सको एक अदालतले साउदी राजकुमारी हास्सा बिन्त सलमानलाई एकजना